नेपाली टिमलाई बिहीबार अभ्यास गराउँदै प्रशिक्षक सुदेशकुमार रिमाल । तस्बिर : कौशल अधिकारी/कान्तिपुर

काठमाडौ, पुस ३ - 
नेपाल र माल्दिभ्सविरुद्धको खेलसँगै प्रथम दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिप शुक्रबार राजधानीमा सुरु हुँदैछ । राउन्ड रोबिनका आधारमा ५ दिन सञ्चालन हुने प्रतियोगितामा नेपाल र माल्दिभ्ससँगै भारत, श्रीलंका र बंगलादेश सहभागी छन् । चारै पाहुना टोली काठमाडौं आइसकेका छन् । महासचिव चन्दले हालै एसियाली खेलकुदमा सहभागी खेलाडीको वर्चस्व भएको भारतीय टिम आएको बताए । प्रतियोगिताको विजेताले २ हजार डलर, उपविजेताले १ हजार र तेस्रो हुनेले ५ सय डलर पाउनेछन् । उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ दिइने जनाएको छ ।

नेपाली महिला टिम अन्तर्राष्ट्रिय प्रतियोगितामा ८ वर्षपछि कोर्टमा र्फकन लागेको हो । सन् २००६ मा कोलम्बोमा भएको दक्षिण एसियाली खेलकुदमा नेपाली महिला भलिबल टिमले कांस्यपदक जितेको थियो । त्यसयता नेपाली टिम अन्तर्राष्ट्रिय अनुभवबाट वञ्चित हुँदै आएको छ । नेपालले १५ वर्षअघि घरेलु भूमिमा भएको दक्षिण एसियाली खेलकुदमा पनि कांस्य जितेको थियो ।

कोलम्बो यात्रा गरेका विनीता बुढाथोकी, कोपिला उप्रेती र मञ्जु गुरुङ अहिलेको टिममा पनि छन् । नेपालले भदौमा माल्दिभ्ससँग काठमाडौंमा तीन खेलको मैत्रीपूर्ण खेल खेलेको थियो । नेपालले सबै खेल जितेको थियो । त्यसैले नेपाललाई पहिलो खेलमा माल्दिभ्सविरुद्ध खासै गाह्रो नहुने प्रशिक्षक सुदेशकुमार रिमालले बताए ।

'माल्दिभ्स र बंगलादेशसँगको खेल हामीलाई त्यति गाह्रो नहोला,' रिमालले भने, 'भारत र श्रीलंकालाई मुख्य प्रतिस्पर्धी मानेका छौं ।' राष्ट्रिय टिम तयारीअघि थोरै भए पनि खेलाडी आत्मविश्वासी भएको उल्लेख गर्दै उनले भने, 'हाम्रो लक्ष्य स्वर्णपदक जित्ने नै हो ।'

उनले भारतको चुनौतीबारे भने, 'पहिले हामी कमजोर र भारत धेरै राम्रो थियो । अहिले हाम्रो खेल धेरै सुधारिएको छ । भारत अहिले पनि बलियो हो तर हामी पनि स्तरीय बनेर आएका छौं ।' उनी अनुभवको हिसाबले भारत सबैभन्दा बलियो मान्छन् । उनले ब्लक र एट्याकिङ नेपाली टिमको मुख्य शक्ति भएको बताए । नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना १५ वर्षपछि गर्न लागेको हो ।

 
 
Top