कुविक एनपी न्युज 
सेलिब्रेटीहरुको ‘पावरचेक’ सोसल मिडियाले गर्न थालेको छ । फेसबुक लाइक, ट्विटर फलोअर तथा वेबसाइट भिजिटर र अन्य सञ्जालमा पछ्याइनुले सेलिब्रेटीको क्रेज नाप्न सजिलो बनाइदिएको छ । सुनिता दुलाल ती सेलिब्रेटीहरुमध्ये अग्रपंक्तिमा पर्छिन् । उनी आफ्नो युट्युब च्यानल अनि व्यक्तिगत वेबसाइट चलाउँछिन् । फेसबुकमा सात लाखको हाराहारीमा मन पराइएकी छिन् उनी । कारण के होला ? गीत गाउन सक्ने खुबीमात्र हो कि, अन्य केहि ? कुन जादुले उनलाई देशविदेश घुमाइरहेको छ ? जिष्टखबरले उनीसँग जान्न उत्सुक रहेको कुरा सुनायो । उनले समय दिइन् दरबारमार्गको नाङ्लो चाइनिज रुममा, दिनको एक बजे । कुरा गर्दै गर्दा उनमा सेलिब्रटी स्टारडमको कुनै घमण्ड देखिन्थेन । फरासिलो स्वभाव, मुस्काएर कुरा गर्ने शैली, दोष दिनेभन्दा हरेक कुरालाई सकारात्मक ढंगले बुझ्ने मानसिकता जस्ता कुराले उनको स्टारडममा राम्रै मलजल गरेको बुझ्न सकिन्थ्यो । उनै गायिका सुनिता दुलालसँग जिष्टखबरले गरेको कुराकानीको सम्पादित अंश :तपाईंको एक दशक लामो संगीत करियरमा पहिला र अहिलेको बुझाइ कस्तो छ ?sunitdulal
त्यो बिल्कुलै फरक छ । मेरो आफ्नो दाई घमेश दुलाल पनि लोक गायक भएकाले सांगीतिक माहोलसँग नजिक थिएँ । पहिला रेडियो नेपालमा गीतहरु सुनिन्थ्यो । त्यहाँ गएर गाउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो । तर पछि त सिंहदरबार नै छिर्न गाह्रो भयो । अहिले चाहिँ जिम्मेवारी बढेको छ । घर परिवारदेखि सम्पुर्ण कुराहरुमा विचार पु¥याउनु पर्ने भएको छ ।
लोक संगीतमा लाग्ने धेरैले कि त यो संगित क्षेत्रलाई उद्योग नै मान्दैनन् कि त धरासायी मान्छन् । तपाईंको बुझाइमा लोक संगीत क्षेत्र उद्योग हो वा होइन ?
पक्कै पनि यो उद्योग नै हो । र यो पनि हो कि यो उद्योग धरासायी भएको पनि छैन । बरु विकसित भइरहेको छ ।
के कारणले विकसित भएको मान्न सकिन्छ ?
पहिला एल्बमहरु बिक्री त हुन्थे तर एल्बम बिक्रीलाई संगित क्षेत्र चलेको मानक मान्न सकिँदैन । त्यो बेलामा धेरै बिक्री हुन्थ्यो, अहिले धेरै सुनिन्छ । प्रबिधिले गर्दा धेरै सुनिने भएपछि नयाँ कलाकारले पनि आफ्नो प्रस्तुती राख्न पाएका छन् । नयाँनयाँ स्वादका गीतहरु जन्मिएका छन् ।
तपाईं छाटो समयमैं यो अवस्थामा आइपुग्नु भयो, कमैले यो अवसर पाउँछन्, यसको कारण केलाई मान्नुहुन्छ ?
म आफुलाई त भाग्यमानी मान्छु । किनकी मैले छोटो समयमै ठूलो उपलब्धि पाएको छु । दाई गायक हुनु भएकाले सांगीतिक क्षेत्रका व्यक्तिहरुसँग भेट भइरहन्थ्यो । रेडियो र टेलिभिजनमा कार्यक्रम चलाएपछि मलाई यो क्षेत्र बुझ्न अझ सजिलो भयो ।
यो उपलब्धिको पहिलो श्रेय कसले पाउँछ ?
मेरो मेहनतले ।
तपाईं फेसबुकमा हिट हुनुहुन्छ ? देशविदेश घुम्ने अवसरमा पनि तपाईं अगाडि हुनुहुन्छ । तपाईंको स्वरले मात्रकाम गरेको होला त ?
स्वरमात्र होइन व्यक्तिगत स्वभावको पनि उत्तिकै ठूलो भुमिका रहन्छ । मेरो फेसबुकमा आएका धेरै प्रतिक्रिया, मेसेजलाई म सकेसम्म जवाफ दिने कोसिस गरिरहेको हुन्छु । विदेश जाँदा कति आयोजकले दर्शकसँग भेट्ने अवसर पनि दिनुहुन्न । मलाई लाग्छ हाम्रै लागि भनेर घण्टा घण्टाको मुुल्य चुकाएर आउनु भएको हुन्छ । कमसेकम मिठो बोलेर फोटो खिच्ने समय पनि छुट्याइरहेको हुन्छु ।
४० भन्दा बढी देश घुमिसक्नु भयो क्यारे ! कहाँका दर्शक आत्मिय लागे ?
लगभग नेपालीहरुको बसोबास भएका प्रायः मुलुक पुग्दा खाडी मुलुकका दर्शक आत्मिय लागे । अनि भुटानी दर्शकहरु पनि आत्मिय लागे । हुन त युरोप अमेरिकाका दर्शकमा पनि आत्मियता नभएको त होइन, तर त्यहाँका नेपालीहरु अलि बढी मनि माइण्डेड भएका हुन् कि भन्ने लाग्छ ।
नेपालमा चाहिँ ?
सुदुर पश्चिममा जति आदर काहिँ पनि पाइदैन ।
लोक गीत संगितमा र संगितकर्मीमा विकृती आएको हो ?
सस्तो लोकप्रियतालाई सिँढी बनाएर बिदेश जान चाहनेहरुले यस्तो हर्कत गर्छन् । सस्तो लोकप्रियताको भागेदार उ आफैं नै हुने हो । एक दूई उदाहरणलाई लिएर सम्पुर्ण क्षेत्रलाई बदनाम गराउन मिल्दैन । तर समय अनुसार अलि फरक चाहिँ हुनैपर्छ । किभने भिडियोमा, शब्दमा कस्ता कुरा राख्ने भन्ने कुरा सम्बन्धित निकायले तोकिदिनु पर्छ ।
संगित क्षेत्रमा भएको टड्कारो समस्या के देख्नुहुन्छ ?
सिनेमामा सेन्सर बोर्ड भए जस्तै संगीत क्षेत्रमा पनि सेन्सर बोर्ड जरुरी छ । संगीत क्षेत्रमा जति संस्था छन्, पैसा कलेक्सनमामात्र लागेका छन् ।
तपाईं सुन्दर हुनुहुन्छ, लामो समय टिकिरहन गाह्रो हुने क्षेत्रमा हुनुहुन्छ । कसरी मेण्टेन गर्नुहुन्छ ?
मलाई लाग्दैन म सुन्दर छु । तर मलाई लाग्छ सधैं खुसी रहनु सुन्दरता जोगाउने उपाय हो । स्टेज पर्फमेन्स, ड्रेस सेन्सको ज्ञान भयो भने लामो समयसम्म प्रभाव पार्न सकिन्छ जस्तो लाग्छ ।
साडी लगाउने तपाईंको बाध्यता जस्तै भइसकेको छ है ?
जतिपनि दर्शक हुनुहुन्छ, सुनिता दुलालले साडी नै लगाउनु पर्छ भन्ने सोच्नुहुन्छ । मलाई पनि साडी नै मन पर्ने भएकोले कार्यक्रममा जाँदा साडी नै लगाउँछु । अझ अर्को कुरा मेरो मैले लगाएको साडी नै खोज्ने धेरै फ्यान पनि पाएको छु । अहिलेसम्म ४० जति साडी बिक्री भए होलान् ।
तपाईंको अन्तरवार्तामा प्रायः प्रेम र बिहेको कुरा आइरहेको हुन्छ, सधैं एकैखाले प्रश्न आइरहँदा कस्तो लाग्छ ?
म तपाईंले पनि यस्तै प्रश्न सोध्नुहुन्छ भन्नेमा ढुक्क थिएँ । प्रायः प्रश्न पनि क्लिेसे हुने भएकाले उत्तर पनि क्लिसे नै हुन्छ । बारम्बार यस्तै प्रश्न आउने भएकाले कहिलेकाहिँ चाहिँ म साँच्चिकै ढिला भएकी हुँ त भन्ने लाग्छ । तर मलाई थाहा छ, म ढिलो छु या चाँडो । कहिलेकाहिँ मिडियामा समाचारहरु पनि बंग्याएर आउने हुँदा आफुलाई अप्ठ्यारो बनाउँछ ।
तपाईंले धेरै ठाउँमा भन्नुभएको छ, के अबको दूई वर्षमा बिहे हुन्छ ?
अब मलाई लाग्दै छ, यो बिहेको लागि पर्फेक्ट टाइम हो । यसको लागि म तयारी पनि गर्दैछु । सायद दूई बर्षमा मैले भनेको हुनेछ ।
तपाईंको प्रेम नै नपरेको हो त ?
एउटा पत्रिकाले सुनिता दुलाल अष्ट्रेलियामा ब्वाइफ्रेण्ड भेट्न आएको कुरा लेख्यो, त्यो सत्य थिएन । मैले धेरै ठाउँमा भनिसकेको छु मैले करियरलाईमात्र प्राथमिकता दिएँ । अबचाहिँ बिहे गर्ने बेला भएको छ भन्ने लागेर प्रेम प्रस्ताव राख्नेहरुलाई एकपटक चाहिँ के रहेछ त ! भन्ने लागेर भेट्न थालेको छु ।

 
Top