अवसरले आर्थिक सम्पन्नतातर्फ

हाम्रो जीवनशैली सूचना-प्रविधिमा अभ्यस्त हुँदै गएको छ । नेपालको आईटी क्षेत्रमा अवसरका सम्भावनाहरू पनि बढेर गएका छन् । बढ्दो आउटसोर्सिङसँगै कतिपय युवाले सूचना-प्रविधिको क्षेत्रबाटै राम्रो आम्दानी गरिरहेका छन् । अनलाइनबाटै सरल एवं भरपर्दो सेवा प्रदान गर्न सकिने भएकाले यो व्यवसायको आकर्षण बढी छ भने सूचना-प्रविधिको क्षेत्रमा देखिएको कमाइले पनि युवाहरूलाई आधारभूत ज्ञान लिन आईटीका विविध कोर्सतर्फ अग्रसर गराउँदै लगेको छ । 

आईटीमा कार्यरत युवाहरूको कामको चर्चा गर्दा विगत एक दशकदेखि सक्रिय चक्रपाणि अधिकारीको नाम अंग्रपंक्तिमा आउँछ । डोमेन रजिस्ट्रेसन, वेभ होस्टिङ, वेबसाइट निर्माण एवं प्रोग्रामिङका सेवाहरू आइसफ्ट टेक्नोलोजीमार्फत दिँदै आएका अधिकारीले गुगल एडसिन तथा आइसिटी परामर्श सेवाबाटै आईटीमा आफ्नो करियर बलियो बनाउन सके । अधिकारीले नेपालभित्र सरकारी तथा प्राइभेट क्षेत्रलाई आइसिटी कन्सल्टेन्सी सेवासमेत उपलब्ध गराउँदै आएका छन् ।        

अमेरिका, क्यानाडालगायत युरोपमा आइटसोर्स सेवा प्रदान गर्ने अधिकारीले क्यानको सफ्टवेयर क्षेत्रको विकास एवं प्रवर्द्धनका लागि बीपीओ संयोजक भएर जिम्मेवारीसमेत वहन गरिसकेका छन् । आईटीएस नेपालका पूर्वअध्यक्ष अधिकारी नेपाल सरकारको कार्यालयका डकुमेन्टहरू डिजिटल फर्मेटमा लानुपर्ने हुँदा आईटीमा प्रसस्त अवसर थपिँदै गएको बताउँछन् । 

ई. कुमार श्रेष्ठ वेब प्रगामिङका हस्ती हुन् । श्रेष्ठसँग पाँच वर्ष लामो अनुभव छ । वेब होस्टिङ, वेभ निर्माण तथा आइसिटी परामर्श सेवा एवं गुगल एडसिन एकाउन्टका लागि नेपाली मिडिया सञ्चालकहरूलाई टिप्स दिएर ३० भन्दा बढी गुगल एडसिन एकाउन्ट नेपाली अनलाइन साइट ब्लगमा राख्ने सरल उपाय सिकाउने खुबी छ श्रेष्ठमा  ।

वेब प्रोगामिङ तथा वेब होस्टिङमा दक्ष ई.कुमार श्रेष्ठ भन्छन्-९१ प्रतिशत काम विदेशबाट आउँछन् । आफूले यो क्षेत्रबाटै राम्रो कमाइ गरेको बताउँदै विदेशबाट अफरहरू आए पनि स्वदेशमै रहेर आईटीमा सफल उद्यमी बन्ने लक्ष्य लिएको श्रेष्ठले उल्लेख गरे । 

सुरेन्द्र बुढाथोकी वेब प्रोग्रामिङमा सक्रिय छन् । बुढाथोकी सीएमएस भर्सनको वेबसाइट डिजाइन गरेरै महिनाको लाख रुपैयाँ कमाउँछन् । वेबमा काम गर्नु आफ्ना लागि कुनै नौलो काम नभएको सुरेन्द्र बताउँछन् । फ्रि वेब थेम र टुल्सहरू अनलाइनबाटै पाइए पनि त्यसको व्यवस्थापन गर्न जानिएन भने त्यो वेभ निर्माणको व्यवसायिकता नहुने सुरेन्द्रको तर्क छ ।

अन्तर्राष्ट्रिय बजार मूल्य नेपालको बजार मूल्यभन्दा धेरै राम्रो भएकाले युवाहरू आईटीसँग जोडिने गरेका हुन् । प्रोग्रामिङको क्षेत्रमा हात हालेका कुमार श्रेष्ठ तथा सुरेन्द्र बूढाथोकीका अनुसार यो क्षेत्रमा काम गर्दाको मज्जा बेग्लै छ । काम निश्चित समय र मापदण्डभित्र पूरा हुनुपर्ने भएकाले एकपटक गुणस्तरीय काम दिन सकियो भने कामको कुनै दु:ख हुँदैन । सुरेन्द्र आफ्नो कमाइबाट आफू मात्र नभै परिवारसमेत सन्तुष्ट रहेको बताउँछन् ।

छिमेकी मुलुक भारतमा आईटीका कामहरू महँगो हुँदै गएकाले नेपाली बजारमा सम्भावना बढ्दै गएको छ र यसमा युवापुस्ता अगाडि पनि छ । साइवर स्टेसन, इन्टरनेट सेवाप्रदायकदेखि आईटी कम्पनीसम्म युवापुस्ताकै बाहुल्यता छ । नेपाली बजारमा काम गर्ने युवाहरू सयबाट हजारको संख्यामा प्रत्येक वर्ष थपिँदै गएका छन् । अधिकारी, कुमार श्रेष्ठ एवं सुरेशको आईटी प्रोफायलले युवापुस्तालाई प्रेरणा मिल्नेछ भने हजारौं युवा आत्मनिर्भर बन्ने कुरामा पनि कुनै शंका छैन । सरकारले पनि सम्भावना बोकेको आईटी क्षेत्रलाई पहिलो दर्जामा राखेर युवापुस्तालाई यो क्षेत्रमा लाग्न सक्ने वातावरण सिर्जनाका लागि बलियो आईटी नीति तयार गर्न गम्भीर रूपमा चिन्तन गर्नुपर्ने बेला आइसकेको छ ।
 
Top